युवा वर्ष गंगाको अध्यक्षमा खनाल

खबरदाता

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयास्थित युवा वर्ष गंगा आधारभूत विद्यालयमा आयोजित वार्षिक अभिभावक भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ दुवै पुनर्गठन गरेको हो ।

भेलाबाट राधिका खनालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यमा शुशीला स्याङतान, ऋषि प्रसाद अधिकारी, वासुदेव खतिवडा, प्रविन रिमाल र सुमिना स्याङतान चयन भएका छन् । वडा अध्यक्ष राजकुमार श्रेष्ठ सदस्यका रूपमा रहेका छन् भने विनोद कुमार थापा मगर शिक्षक प्रतिनिधि चयन भएका छन् । प्रधानाध्यापक शरदकुमार अधिकारी सदस्य सचिवको जिम्मेवारीमा रहेका छन् ।

यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा मनीषा बर्तौला चयन भएकी छन् । संघको सदस्यमा मीना भुजेल, संगीता मंग्राती, सावित्री नेपाली र राधिका खनाल रहेका छन् । लेखा सदस्य सचिवमा चित्रकुमारी आचार्य चयन भएकी छन् भने प्रधानाध्यापक शरदकुमार अधिकारी सो संघमा पनि आबद्ध रहेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष राजकुमार श्रेष्ठ र शिक्षा प्रमुख प्रदीप पराजुलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक शरदकुमार अधिकारीले वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा लामो समय सेवा गरेका कर्मचारी तिलकप्रसाद रेग्मीलाई मायाको चिनोसहित स-सम्मान बिदाइ गरेको विद्यालयका शिक्षक रविन न्यौपानेले बताए । भेलाबाट दुवै समितिका पदाधिकारी सर्वसम्मत रूपमा चयन गरिएको समेत न्यौपानेले जानकारी दिए ।

Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *