

राजधानीमा एक विशेष कार्यक्रमका बीच फिल्म ‘टेम्के’ को औपचारिक शुभमुहूर्त सम्पन्न भएसँगै निर्माण प्रक्रिया सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको शुभारम्भ गर्दै सफलताको कामना व्यक्त गरे ।
नेपाली समाजको कथा बोकेर आउन लागेको यस फिल्ममा दर्शकको विशेष ध्यान भने अभिनेता अर्जुन थापातर्फ केन्द्रित भएको छ । पछिल्लो समय आफ्नो अभिनयमार्फत फरक पहिचान बनाउँदै आएका थापा ‘टेम्के’ मार्फत पुनः एकपटक बलियो उपस्थितिका साथ दर्शकमाझ आउने तयारीमा छन् । फिल्ममा उनको भूमिका कस्तो हुनेछ भन्ने विषय खुलाइएको छैन, तर निर्माण टिमका अनुसार कथा नै उनलाई केन्द्रमा राखेर अघि बढ्ने संकेत देखिएको छ ।
आर.डी.एस. नेपालले प्रस्तुत गर्न लागेको फिल्मको निर्देशन देवप्रसाद धिमालले गर्दैछन् । धिमालकै निर्माणमा बन्न लागेको यस फिल्ममा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माताको रूपमा छन् ।
फिल्ममा शिव श्रेष्ठ, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाँल, रविना दुलाल र विवेक खड्का लगायतका कलाकारको पनि अभिनय रहनेछ । तर, दर्शकको नजर भने विशेषगरी अर्जुन थापाको भूमिकामा रहने देखिन्छ ।

निर्माण पक्षका अनुसार ‘टेम्के’ को छायाङ्कन काठमाडौँ र भोजपुरका विभिन्न स्थानमा गरिनेछ । चैतको दोस्रो साताबाट छायाङ्कन सुरु हुने तयारी गरिएको फिल्मले नेपाली समाजका यथार्थ कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको छ ।
