

पश्चिम मकवानपुरको हरियाली काखमा अडेस लागेर बसेको मनहरी गाउँपालिका-५ एउटा भूगोलमात्र होइन, यो पुस्तौँदेखि संघर्ष, सपना र भरोसाले बनेको जीवनकथा हो । दुई वटा राष्ट्रिय निकुन्जको काखमा रहेको वडा र राप्ती नदीको न्यानो सुस्केराले छोएको यो बस्तीमा बिहान घामसँगै खेततिर जाने पाइला र काँधमा झोला बोकेर विद्यालयतर्फ दौडिने बालबालिकाको दृश्य एउटै लयमा बग्छ । यही लयभित्र एउटा नाम छ, जसले मनहरी–५ लाई चिनायो, जसले पुस्तालाई जोड्यो, त्यो नाम हो श्री भोजसिद्द माध्यमिक विद्यालय ।
आज यो विद्यालय कुनै साधारण शैक्षिक संस्था होइन । यो मनहरी–५ को मुटु हो, आत्मा हो र भविष्यप्रतिको विश्वास हो । झण्डै आधा शताब्दीअघि, जब न पर्याप्त भवन थिए, न आधुनिक साधन, न सुविधा । त्यसबेला केही अभिभावकको अठोट, केही शिक्षकको समर्पण र गाउँको सामूहिक सपनाले भोजसिद्द माविको बीउ रोपिएको थियो । काठका बेन्च, माटोको आँगन र गुरुकुलीय भावनाबीच सुरु भएको त्यो सानो प्रयास आज ५० वर्षे इतिहास बनेर उभिएको छ ।
समय फेरियो, कक्षा कोठा बदलिए, पाठ्यक्रम बदलिए, पुस्ता बदलिए तर भोजसिद्द माविले कहिल्यै आफ्नो आत्मा बदल्न दिएन । शिक्षा केवल किताबमा सीमित छैन, यो जीवन बाँच्ने कला हो भन्ने पाठ यही विद्यालयले सिकायो । यही आँगनमा बालबालिकाले पहिलो अक्षर लेखे, यही चौरमा उनीहरूले पहिलोपटक सपना देख्न सिके ।
आज मनहरी-५ का धेरै घरमा कुनै न कुनै सदस्य भोजसिद्द माविको विद्यार्थीको रूपमा गर्वका साथ सम्झिन्छ । कोही शिक्षक बने, कोही कर्मचारी, कोही सुरक्षाकर्मी, कोही कृषक त कोही समाजसेवी । तर जहाँ पुगे पनि उनीहरूको जरा यही विद्यालयसँग गाँसिएको छ । यही कारण भोजसिद्द मावि आज एउटा विद्यालय मात्र होइन, एउटा पहिचान बनेको छ ।
यसै गौरवपूर्ण यात्रालाई स्मरण गर्दै श्री भोजसिद्द माध्यमिक विद्यालयले आगामी फागुन ७ देखि ९ गतेसम्म स्वर्ण जयन्ती महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ । यो महोत्सव औपचारिक कार्यक्रमको सूची मात्र होइन, यो अतीतलाई सम्झने, वर्तमानमा गर्व गर्ने र भविष्यतर्फ आशा बोकेर अघि बढ्ने सामूहिक क्षण हो । कार्यक्रम बागमताी प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुनेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेतीका अनुसार स्वर्ण जयन्ती मनहरी–५ को शैक्षिक चेतनाको ऐना हो । महोत्सवअन्तर्गत विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनेछ, जसले भोजसिद्द माविको संघर्ष, समर्पण र उपलब्धिलाई स्थायी रूपमा स्मरण गराउनेछ । साथै विद्यालयको इतिहास, योगदान र यात्रालाई समेटिएको स्मारिका प्रकाशन गरिनेछ, जसले भावी पुस्तालाई आफ्नो माटो र विद्यालयप्रति जोडेर राख्ने विश्वास गरिएको छ ।
त्यसैगरी विद्यार्थी तथा शिक्षकस्तरीय विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू आयोजना गरिनेछन् । यी कार्यक्रमले विद्यालयलाई केवल शैक्षिक थलो नभई सामाजिक उत्तरदायित्व बोकेको संस्थाका रूपमा प्रस्तुत गर्नेछन् भन्ने बिस्वास लिएको मनहरी ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी बताउछन् ।
मनहरी–५ आज पनि चुनौती र सम्भावनाको दोसाँधमा उभिएको बस्ती हो । विकासका अपेक्षा छन्, संघर्षका कथा छन् । यही बस्तीमा ज्ञानको दीप बनेर निरन्तर बलिरहेको भोजसिद्द माध्यमिक विद्यालयको स्वर्ण जयन्ती एक विद्यालयको मात्र नभई, समग्र मनहरीको उत्सव हुने स्थानीयको विश्वास छ ।
विद्यालय परिवारले पूर्वविद्यार्थी, अभिभावक, स्थानीयवासी तथा शुभेच्छुक सबैलाई महोत्सवमा सहभागी भई यस ऐतिहासिक क्षणको साक्षी बन्न आग्रह गरेको छ । किनकि भोजसिद्द माविको इतिहास कुनै एक व्यक्तिको कथा होइन, यो पूरै मनहरी–५ को साझा कथा हो ।
पचास वर्षको यात्रा पूरा गर्दै श्री भोजसिद्द माध्यमिक विद्यालय फेरि एकपटक नयाँ सपना बोकेर अतीतको अनुभव, वर्तमानको आत्मविश्वास र भविष्यको आशासँगै मनहरी-५ को आकाशमा ज्ञानको उज्यालो छर्न तयार भएर उभिएको छ ।
