

मनहरी- सिविन नेपाल, मकवानपुरले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका- ५ मा सञ्चालन गर्दै आएको बाल संरक्षण तथा बिपन्न बालबालिकाको सहयोगसम्बन्धी कार्यक्रम अन्तर्गत पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।
मनहरी–५ मा आयोजित कार्यक्रममा संस्थाले बालबालिकाको उद्धार, शिक्षा र आधारभूत आवश्यकतामा सहयोग पुर्याउँदै आएको जानकारी दिइयो । सो अवधिमा दुई बिपन्न परिवारलाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले पाडो, बाख्रा र गाई वितरण गरिएको छ भने एक सदस्यलाई व्युटी पार्लर तालिम प्रदान गरिँदै आएको छ ।

त्यसैगरी, मनहरी–५ स्थित श्री भोजसिद्ध माध्यमिक विद्यालयलाई दुई वटा पानी ट्यांकी र स्ट्यान्ड सहयोग गरिएको छ, जसले विद्यालयमा देखिएको पानीको समस्या न्यून गर्न मद्दत पुगेको छ । साथै, १० जना बिपन्न परिवारका बालबालिकाको विद्यालय शुल्क, शैक्षिक सामग्री र रासनसमेत संस्थाले व्यवस्थापन गरिरहेको सामाजिक परिचालक अन्जन सापकोटाले जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष सिविन नेपाल मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञावलीले बालबालिकामा देखिन सक्ने जलनका जोखिम र त्यसबाट बच्ने उपायबारे जानकारी दिँदै घरायसी सावधानी अपनाउन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले बालबालिका राष्ट्रको भविष्य भएको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए । उनले भने, ‘बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता हुन सक्दैन । स्थानीय तह, अभिभावक र संघसंस्थाबीच सहकार्य भए मात्र बालबालिकाको समग्र विकास सम्भव हुन्छ ।’ बालश्रम, बालविवाह तथा बालहिंसा जस्ता विकृतिहरू अन्त्य गर्न समुदाय नै सचेत र सक्रिय हुनुपर्नेमा जोड दिए । ‘हामीले विकासका कुरा मात्रै होइन, बालमैत्री समाज निर्माणलाई पनि प्राथमिकता दिनुपर्छ । कुनै पनि बालबालिका जोखिममा परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनु सबैको कर्तव्य हो,’ उनले भने ।
उनले सिविन नेपालले सञ्चालन गरिरहेको कार्यक्रमले बिपन्न परिवार र बालबालिकाको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा वडा सदस्यहरू बुद्धि बहादुर स्याङ्तान, सरला थापा र सन्जिता परियार, बागीभूगोल साप्ताहिकका सम्पादक मदन जङ्ग गम्भीर लगायत विभिन्न टोल विकास समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका दौरान बालबालिकासम्बन्धी समस्या परेमा निःशुल्क रुपमा १०९८ मा सम्पर्क गर्न सकिने जानकारीसमेत दिइएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक अन्जन सापकोटाले गरेका थिए ।
